म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु…(मनोवाद)

थाहा छ एसिया ! आज मलाई तिम्रो धेरै याद
आयो । आज दिउँसो ‘श्रीकन्टे’ ले टुविटरमा ‘म तिम्रो सहर छोडि टाढा, टाढा
जाँदैछु’
भनेर टुविट गरेका थिए । अनि मलाई पनि यही गित सुन्ने हुटहुटी
चल्यो, अनि अनायासै तिम्रो धेरै याद आयो एसिया ! टुविट भन्दा तिमी छक्क
पर्यौ होला है, म हिजो आज टुविटर धेरै चलाउँछु नि, फेसबुक ले दिक्कै
लाइसक्यो । थाहा छ, आज मैले दिउँसो देखि अहिले सम्म पनि प्रदिपराज
पाण्डे कै आवाज सुनिरा’को छु

“म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु…
…यो सहर तिमीलाई दाइजो छोडेर जाँदैछु”
थाहा छैन एसिया, यो गित गितकार ले के
हिसाब ले लेखेका थिए, संगितकार ले के सोचेर संगित भरेका थिए अनि गायक ले
कुन भाव मा गाएका थिए । गित ले त भन्छु, “म तिम्रो सहर छोडि टाढा, टाढा
जाँदैछु, तिमी सँग नभेट्ने कसम खाँदैछु…” तर मलाई यही गित ले गर्दा नै
तिमीलाई कहिले भेटौँ कहिले भटौँ जस्तो भएको छ । सायद, दशैँ को बेला घर जानु
पर्ने भएकोले, मलाई यो गित मेरै लागि बनेको हो कि जस्तो लागेको छ एसिया ।
तर जेहोस् एसिया, ‘म केही दिन को लागि तिम्रो सहर छोडि टाढा, टाढा
जाँदैछु…’
मृगस्थली को वन
एक्लै चहार्दा त कति रमाइलो
भो, झन् साथै मा तिमी भएको भए झनै मज्जा हुन्थ्यो होला है ! थाहा छ एसिया,
आज फेरि एक्लै हिँडे तिमीलाई खोज्दै ! चावेल बाट पैदलै छिचोलेँ,
गुह्येश्वरी र पशुपति ! मलाई किन किन हिँड्न औधि मनपर्छ, तर थाहा छैन,
तिमीलाई के मन पर्छ । मृगस्थली वन मा पुग्दा,मलाई त्यसै त्यसै रमाइलो
लाग्छ, अझ पशुपति को पू्र्वपट्टि को डिल मा बसेँ भने त हिँड्नै मन लाग्दैन ।
मलाई त्यहाँ बसेपछि कहिले रात नै नपरे हुन्थ्यो भने झैँ लाग्छ तर त्यो
आरती हेर्न साँझ कुर्नैपर्छ हैन र ?
अँ, साँच्ची मैले कर्णाली ब्लुज पनि पढेँ
नि ! आफूलाई त आफ्ना वाल्यकाल सबै याद आयो ! तिमीले नि पढ्यौ होला है,
तिमीलाई पनि रमाइलो लाग्यो होला ! त्यो पढेको भए, तिम्ले मेरो जिवन पनि
बुझ्यौ होला, लगभग उस्तै रहेछ, उसको र मेरो कथा पनि, केही अपवाद बाहेक !
कहिलेकाँहि त झोँक पनि चल्छ, आफ्ना कुरा पनि त्यसैगरि लेखौँ झैँ लाग्छ तर म
अहिले नै उपन्यास त कहाँ लेख्न सक्छु र !
अर्को कुरा, अस्ति म सिटिसेन्टर गा’को थिँए
नि ! तर तिमीलाई भेट्न भने हैन है, पछिल्लो समय मा साह्रै राम्रा लागेका
साथिहरु भेटेको नि ! तिमी चिन्छौ नि हैन, प्रमोद अनि ईश्वरलाई, अनि काका बा
को पसल मा गएर दशैँ सपिङ नि गर्दिएँ नि ! तर चिन्दिनौ होला, तिम्लाई मैले
केही भनेकै छैन । साँच्चि, कत्ति गज्जब का मान्छे छन् है उनीहरु पनि ! ३
घन्टा बसिएछ, तर मलाई त त्यो बसाइ साह्रै छोटो लाग्यो नि एसिया ! अझ
तिमीलाई भेट्दा त दिनभरि बसे पनि १ मिनेट जस्तो मात्र लाग्छ होला है मलाई !
मृगस्थली मा त्यो चिया पसल की साहुनी अझै
तिनै रहिछन् । पोहोर जाँदा पैसो तिर्न नसकेर फर्केको याद थियो मलाई,आज पनि
त्यहाँ पुगेपछि त्यही कुरा याद भो ! पहिले त पर्स नै हेरेँ, पैसो रहेछ अनि
चिया पिँए । साँच्चि कस्तो शान्त र सुन्दर छ नि त्यो ठाउँ ! अझ के भनन,
त्याँ छेउ कै पसल बाट एउटा बाँदर ले रियल जुस उडाइदियो नि ! त्यसको पछि पछि
लठ्ठि लिएर एउटा केटो रियल फिर्ता ल्याउन दौडेको थियो, तर बिचरो ले के
सक्थ्यो, पशुपति का बाँदर सँग ! बाँदर ले वल्लो हाँगा र पल्लो हाँगा गर्दै
खायो नि सबै ! हामी त हेरेको हेरेकै !
अझ एउटा बुढो आफूलाई ‘लभ गुरु’ भन्दै आ’को
थियो । ती चिया पसल का केटीहरुले के अर्थ लाइदे थाहा छ, एउटी बुढी
आइमाइलाई, भन्दिए, लभ गुरु भन्या पाले हो, यहाँ बाँदर आयो भने धपाउँछ !
त्यो परिभाषा सुनेर बुढो त चुप्पो लाग्यो । अनि त्याँ पर तरकारी बेच्ने
एउटा बुढो ले अर्की तरकारी पसल्नीलाई भगाइदिएछ । त्यै चिया पसल को दिदी ले
भन्दै थिइन् छोरी क्याम्पस पढ्ने, आमा पोइला जाने ! के के हुन्छ है यहाँपनि
! अनि खैरेहरु चाँहि, बाँदर को फोटो खिच्दै थिए, कुनै पोज दिएका जस्तो
गर्थे कोही चाँहि क्यामरा नै खोसुँला झैँ गर्थे ।
तर ती सबै कुरा देखिरहँदा पनि, मेरो कान मा
यही गित ‘म तिम्रो सहर छोडी टाढा, टाढा जाँदैछु…” बजिरहेको थियो । किन किन
मलाई एक किसिम ले लठ्ठ बनाइदिएको थियो । साँच्ची तिमी कति जाति छौ है !
थाहा छ, मेरा धेरै साथि थिए, तिम्लाई नि थाहा छ नि, एउटी सबैभन्दा स्पेशल
साथी थिइ ! तर मलाई अहिले त्यो मान्छे पटक्कै मन नै पर्दैन, के भा’को होला
है ! दु:ख मा सम्झिने मान्छे ले सुख मा नि सम्झीन्छ भन्ने सोच्थेँ तर यो
कुरा गलत रहेछ एसिया, त्यो मान्छे को संगत ले यही थाहा पाएँ ! त्यही भएर त
त्यो मान्छे मलाई मन पर्देन नि ! म त्यो मान्छे सँग चाँहि भेट्दिन है !
एसिया,
तिमीलाई थाहा छ नि, मैले एउटीलाई
मन पराएको थिँए । तर हेर, साथ हिँड्दा हिँड्दै म कता छाडिँए कता, थाहा नै
भएन ! म उसको भूत र वर्तमान को साक्षी भएर उभिएको छु । यस्ता कुरा लेख्दा, म
झ्याप छै कि भन्ने शंका लाग्या होला है तिम्लाई तर त्यसो हैन एसिया !
मेरो कुरा सुनिदिने तिमी मात्र छौ नि त, त्यही भएर तिम्लाई भनेको ! अब देखि
बेला बेला मा, तिमीलाई म आफ्ना कुरा सुनाइरहन्छु ल ! म अझै, उसकै छेउछाउ त
छु तर बाटो अर्कै भइसकेको छ, एसिया ! तर यति चाँहि भन्छु कि, अहिले सम्म उ
जस्तो मान्छे अरु फेला पार्न सकिन, उ कत्ति पनि बद्लिएकी छैन ! उ यत्ति
नजिक छे, म भन्नै सक्दैन, त्यसैले त उ मेरो वेष्ट फ्रेन्ड नि ! थाहा छ
एसिया, फेसबुक, ब्लग र टुविटर मा देख्नेहरु ले के के सोच्छन् तर मेरो मन
मा तिमी मात्रै छौ, एसिया ! तर एसिया तिमी किन फेसबुक मा छैनौ, नभए त
मैले अहिले सम्म तिमीलाई भेटिसक्थेँ । अस्ति उसैलाई ट्रिट दिएको नि मैले,
आफू ले तेस्रो वर्ष पास गरेको उपलक्ष्य मा ! कहिले काँहि मोबाइल नेटवर्क ले
धोका दिँदा, मलाई उसैको याद आउँछ ! कस्तो विचित्र को छ है, मेरो कथा पनि !
दशैँ
आइसक्यो नि ! अनि तिमीले दशैँ सपिङ
पनि गर्यौ होला है, के किन्यौ ? न्युरोड नै गयौ होला, तर कत्ति भिड छ है
न्युरोड मा ! अस्ति म पनि न्युरोड मै गा’को त हो नि, सपिङ गर्न भनेर ! सपिङ
त के भन्नु त्यै नि काका को पसल मा पुगिएको थियो । अनि थाहा छ, त्याँ
यत्ति भिड थियो कि, साँझ त सबै गाडि न्युरोड गेट मै रोकेका थिए ट्राफिक ले !
साँच्चै दशैँ लागेको रहेछ ! अब आफू पनि घर गइन्छ ! तिमी के गर्छौ नि एसिया
? तिमी नि घर नै जान्छौ होला तर तिम्रो घर कता हो, मैले सोधेकै छैन
है तिमीलाई ! केही छैन, केही दिनलाई म तिम्रो सहर छोडेर जाँदै छु, चाँडै
फर्किन्छु !
अर्को कुरा, तिम्रो त अब घर पनि भयो होइन जडिबुटीमा? अनि कोटेश्वर देखि, हिँड्न आफलाई
कत्ति मज्जा भा’को थियो, आफ्नो घरसम्म । काठमाडौँ पनि अब चाँहि राजधानी
भन्न सुहाउला है ! लोडसेडिङ र फोहोर भन्या त जहाँ पनि भैहाल्छ नि !
तथ्याङ्क नै हेर्ने हो भने, काठमाडौँ मा फोहोर विश्व का अन्य देशका सहरहरु
का फोहोर भन्दा धेरै कम छ नि ! फरक यत्ति हो, हाम्रो सहर को फोहोर राम्रो
सँग व्यवस्थापन हुन नसकेको मात्रै हो ।
एयरपोर्ट को अगाडि पनि गेट धमाधम बन्दै रहेछ  ! नेपाल को एयरपोर्ट को ट्वाइलेट फोहोर छ भनेर खैरे नआउने
हैनन्, अनि काठमाडौँ फोहोर छ भनेर पनि न-आउने हैनन् । उनीहरु त आउँछन्
सुविधा सम्पन्न होटल मा बस्छन् ! ३६५ दिन नै फोहोर देख्ने हामीलाई मात्र
गाह्रो हो ।
अनि एसिया, तिमि आज कता थियौ ! मैले बाटो
मा भेटिएका सबैजसो मा तिमीलाई खोज्दै थिँए । एयरपोर्ट नजिक त हात पनि
हल्लाएको थिँए तर तिमी होइन रहेछौ । अनि कोटेश्वर मा पनि देखे जस्तो लाग्यो
तर मेरो भ्रम मात्र रहेछ एसिया ! साँच्चि तिमी कता छ्यौ के ? म
एकान्तप्रेमी हो कि एकलकाँटे हो आफैँलाई थाहा छैन । आज पनि एक्लै घन्टौँ
विताइदिँए ! साँच्चि, त्यो च्याट मा एउटी नातिनी पनि छे आफ्नो, मलाई सँधै
बाजे भन्छे ! उ पनि मेरो एक राम्री साथी हो नि ! अनि एसिया त्यो
पछिल्लोपटक झुल्किएकी केटी पनि, एकदम सरल छे है ! नरिसाउ है एसिया, अब
केटाहरु को च्याट मा केटीहरु स्वाभावत धेरै भइहाल्छन नि ! दुइ दिन को
जिन्दगानी, गफगाफ गर्दै मा के नै जान्छ र ! तर ती टुविटरवालाहरु ले पो,
कहिले काँहि गाह्रो पार्दिन्छन् त ! तर एसिया तिमी त मेरो च्याट मा पनि
छैनौ । सायद तिमी इन्टरनेट सँग जोडिएकै छैनौ होला है, हैन भने त मैले
तिम्लाई भेटिसक्थेँ !
थाहा छ एसिया, मेरो घर त तराइ हो नि !
कसैले मधेस भन्यो भने, झनक्क रिस उठ्छ ! तिमीलाई त के तराई के मधेस है,
मेरो कुरा ले टाउको घुमाइरा’को होला ! कहिले के भनिरा’को छु, कहिले के !
त्यै बाग्मती नजिकै छ के, हाम्रो घर ! बाग्मती त यही काठमाडौँ कै हो, तर
हाम्रो तिर त कस्तो सफ्फा छ, तिमी ले देख्यौ भने तिमी खुशीले पागल हुनेछौ ।
आफ्नो कुरा गर्दा गर्दा, तिम्रो बारेमा त सोध्नै बिर्सेको मैले ! साँच्ची
तिमीलाई कस्तो छ एसिया ? सञ्चै नै छौ होला, दशैँ लागेको होला है तिम्लाई
पनि ! अनि साँच्चै हाम्रो भेट कहिले हुन्छ त एसिया ? म त तिमी सँग कहिले
भेट होला भन्दै दिन गनेर बसिरा’को छु ।
आजलाई यत्ति है एसिया ! बाँकि अर्को भेट मा ! एसिया तिमीलाई दशैँ को धेरै
धेरै शुभकामना छ है ! ‘म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु, तिमी सँग
चाँडै भेट्ने कसम खाँदैछु’ !

Leave a Reply